एसएलसी परीक्षा आजदेखि सुरु, ६ लाख १५ हजार पाँच सय ५३ जना विद्यार्थी सहभागी  
काठमाडौँ, १८ चैत - प्रवेशिका एसएलसी परीक्षाको ८३ औं संस्करण आज बिहीबार सुरु भएको छ।

परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालनका लागि मुलुकभर निर्धारण गरिएको एक हजार नौ सय ४३ वटै केन्द्रमा सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।

अनुशासित तथा पूर्णआत्मविश्वासका साथ परीक्षा हलमा प्रवेश गर्न परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीलाई आग्रह गरेको छ। कार्यालयले परीक्षा सञ्चालनमा संलग्न विद्यार्थी, अभिभावक, शिक्षक, सुरक्षाकर्मी तथा सरोकारवाला अन्य पक्षलाई पनि परीक्षाको वातावरण भयरहित बनाउन अनुरोध गरेको छ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार सम्बन्धित जिल्ला तथा परीक्षा केन्द्रमा परीक्षाका लागि आवश्यक प्रश्नपत्र तथा उत्तरपुस्तिका पुर् याइसकिएको छ। परीक्षा केन्द्रका लागि आवश्यक जनशक्ति पनि तयारी अवस्थामा छन्। यसपटक अघिल्लो वर्षको तुलनामा दुई साता परीक्षा ढिलो गरी सुरु हुन लागेको हो। विगतका वर्षमा चैत दोस्रो साताबाट परीक्षा सञ्चालन गरिँदै आएको थियो।

यस वर्ष सबै परीक्षार्थीको नतिजा लेटर ग्रेडिङ (अक्षरांकन) प्रणालीबाट सार्वजनिक गर्न लागिएको हुनाले विशेष चासोका साथ हेरिएको छ। गत वर्ष परीक्षणका रूपमा ९९ विद्यालयका तीन हजार विद्यार्थीको नतिजामात्र ग्रेडिङ प्रणालीमा सार्वजनिक गरिएको थियो।

भूकम्पले विद्यालयको संरचना भत्काइदिएको र तराई आन्दोलनले पठनपाठन अवरुद्ध भएका कारण परीक्षाका लागि पर्याप्त तयारी नपुगेको विद्यार्थी तथा शिक्षकले गुनासो गरेका छन्।परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्राछात्र गरेर गरेर कुल ६ लाख १५ हजार पाँच सय ५३ जना विद्यार्थीले परीक्षा फाराम भरेका छन्। पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्राको तुलनामा ३६ हजार एक सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी हुँदैछन्।

कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ चार लाख ५२ हजार आठ सय ८१ जनाले परीक्षा फाराम भरेका छन्। तीमध्ये दुई लाख २७ हजार पाँच सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार तीन सय ४६ जना छात्र छन्।

परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्राछात्र गरेर गरेर कुल ६ लाख १५ हजार पाँच सय ५३ जना विद्यार्थी सहभागी हुँदैछन्।

त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार तीन सय ८१ जना छात्र गरेर एक लाख ५९ हजार चार सय १७ जना सहभागी हुँदैछन्। प्राविधिक धारका तीन हजार दुई सयजना परीक्षार्थी छन्। जसमा एक हजार दुई सय ७३ जना छात्रा तथा एक हजार नौ सय ८२ जना छात्र छन्।

परीक्षा सञ्चालनका लागि मुलुकभर एक हजार नौ सय ४३ वटा केन्द्र तथा प्रतिकेन्द्र एकजना केन्द्राध्यक्ष तोकिएको छ। त्यसबाहेक दुई हजार नौ सय ७८ जना सहायक केन्द्राध्यक्ष, २५ हजार पाँच सय ५६ निरीक्षक परिचालन हुनेछन्।

पनिकाका अनुसार केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी, कार्यालय सहयोगीसमेत गरेर मुलुकभरको परीक्षा केन्द्रमा ७२ हजार ८ सय ९६ जनशक्ति परिचालन हुनेछन्। परीक्षा मर्यादित बनाउन तथा परीक्षाको अनुगमन गर्न १८ जना सहसचिवको नेतृत्वको अनुगमन समिति बनाएर परिचालन गरिएको छ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top