चैत्र २५, २०७२- तलब नदिएर काम छाडेका एक सय १८ जना नेपाली कामदारलाई नेपाल पठाउन प्रक्रिया थालिएको छ । पहिलो चरणमा २८ जना नेपालीलाई स्वदेश पठाइसकिएको छ । अल शाहदा कम्पनीमा कार्यरत ती नेपालीले स्वदेश जाने इच्छा बताएपछि कतारको सरकारी निकायको पहलमा नेपाल पठाइएको हो । उनीहरुले मार्च ९ तारिखबाट काम छाडेर बसेका थिए । ‘नियमीत तलब भएन । पछिल्लो समय दुई महिनाको बाँकी थियो । हामी सबै हिँडेर नेपाली दूतावास जाँदै थियौं । धेरैजना बाटोमा लस्कर देखेपछि प्रहरीले सोधपुछ गर्‍यो,’ गुमानसिंह दमाईले भने, ‘त्यसमध्ये हामी चारजनालाई गाडीमा हालेर लिएर गयो । कम्पनीका मान्छेलाई प्रहरीमै बोलायो । त्यहाँ छलफल भएपछि घर जान चाहनेलाई नेपाल पठाउने सहमति भयो ।’ घर जान चाहने सबैले कम्पनीलाई आ–आफ्नो नाम टिपाएका छन् । दोश्रो चरणमा २३ जनालाई पठाउने भन्दै कम्पनीले नाम सार्वजनिक गरेको दमाईले बताए । उनीहरुले तलब दिलाइदिएर घर पठाउन नेपाली दूतावास र श्रम कार्यालयमा उजुरी समेत दिएका थिए । दमाईको नेतृत्वमा फर्कन चाहने सबैलाई श्रम कानुन अनुसार पाउने बिदा र उपदान समेत दिलाएर पठाइदिन कतारको राष्ट्रिय मानवअधिकार समितिमा समेत उजुरी दिएका छन् । ‘हामी श्रम कानुन अनुसार पाउने सबै सुविधा लिएर जान चाहन्छौं । कम्पनीमा ९ वर्षसम्म काम गरेका साथीहरु छन्,’ उनले भने । त्यस कम्पनीमा काम गर्ने ३ जना नेपालीले अझै क्षतिपुर्ति पाएको छैनन् । जुन १८, २०१३ मा डिउटी सकेर क्याम्पतिर फर्किने क्रममा गाडी पल्टदा झापाका कृष्ण राजवंशी, पशपल धमाला र धनुषाका बृजनाथ पण्डितको घटनास्थलमै मृत्यु भएको थियो । १४ जना रहेकोमा बाँकी घाइते भएका थिए । ‘कसैले पनि क्षतिपुर्ति पाएको छैन । अदालतले पनि फैसाला गरिसकेको छ । बिमा कम्पनी र कम्पनीबीचको झगडाले हामीसलाई समस्या छ,’ घाइते भएका नुवाकोटका सुरेन्द्र रिमालले भने, ‘क्षतिपुर्ति पाउने आशामा धाउनुपर्ने निकायमा पुगिरहेको छु ।’

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top