![]() |
संयुक्त राष्ट्रसंघमा भारतले पठाएको प्रस्ताव चीनले अस्वीकार गरिदिएपछि त्यसको बदलामा भारतले चिनियाँ कम्पनीहरुमा सुरक्षा प्रतिबन्ध कडा बनाउने तयारी गरेको छ ।
यो खबरपछि चीनले बुधबार आफ्ना कम्पनीमाथि यो कदम उठाइए भारतका लागि राम्रो हुनेछैन भनेको छ । उसले भारतले ठूलै नोक्सानी व्यहोर्नुपर्ने चेतावनी पनि दिएको छ ।
चीन सरकाबाट सञ्चालित ग्लोबल टाइम्समा प्रकाशित समाचारमा भनिएको छ– ‘यदि भारत चिनियाँ कम्पनीहरुमा सुरक्षा प्रतिबन्ध कडा गर्छ र चिनियाँ कम्पनीहरुलाई दिइएको सुरक्षा मञ्जुरीलाई खारेज गर्छ भने यो कदम भारतका लागि घातक हुनेछ र नोक्सानी पनि व्यहोर्नुपर्नेछ ।’
भारतले पठानकोट एयरफोर्समा भएको आतंकवादी हमलापछि राष्ट्रसंघमा उठाउन चाहेको मुद्धा चीनले रोकेपछि दुई देशबीच विवाद शुरु भएको हो । आफ्नो प्रस्ताव रोकेपछि भारतले चिनियाँ कम्पनीहरुमाथि सुरक्षा प्रतिबन्ध लगाउने संकेत दिएको हो जसका कारण चीन क्रुद्ध बनेको छ ।
शंघाई अकेडमी अफ सोशल साइन्सेजका इन्स्टिट्यूट अफ इन्टरनेशनल रिलेशन्सका सदस्य हू झियोंग ले भनेका छन- ‘चिनियाँ कम्पनीको सम्भावित सुरक्षा मञ्जुरीमाथि समीक्षा गरेमा चीनले भारतमा विस्तार योजनाबारे २ पटक सोंच्ने छ । यसले भारतलाई समेत आधारभुत विकास योजनामा धक्का पुग्नेछ ।’
चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१४ को भारत भ्रमणका क्रममा आगामी ५ वर्षभित्र चीनले भारतमा २० अर्ब डलर लगानी बढाउने घोषणा गरेका थिए । तर, भारत सरकारको पछिल्लो रवैयाले लगानी घट्ने देखिएको हो ।
चीनले भारत प्रवेशमा चिनियाँ कम्पनीहरुमाथिका सुरक्षा नियममा खुकुलो हुनेगरी परिवर्तन गर्न माग गरिरहेको छ । मोदीको चीन भ्रमणपछि चिनियाँ कम्पनीहरुमाथि कडाइ शुरु भएको समेत ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
पछिल्लो २ वर्षमा भारतले कम्तिमा पनि २५ चिनियाँ कम्पनीलाई भारतमा काम गर्न अनुमति दिइसकेका छन् । तर, पछिल्लो झगडाले भने चीन भारतमा लगानी बढाउन हच्किने चिनियाँ अधिकारीहरुको चेतावनी छ ।
समाचार अनुसार यसअघि भारतले पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मसूद अजहरलाई अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसंघमा गरेको प्रस्ताव चिनियाँ राष्ट्रपतिले अस्वीकार गरिदिएका थिए । दैनिकनेपालबाट साभार |
![]() |

0 comments Blogger 0 Facebook
Post a Comment