गोरखा, १६ चैत  - बेलायतका राजकुमार ह्यारी सोमबार दिउँसो दुई बजेतिर लापुबेसीको प्रभातकिरण माविका विद्यार्थीसँग भेटघाट कार्यक्रममा सरिक हुन जाँदै थिए। उनी विद्यालयमा मात्र पुगेका थिए, एक्कासी हावाहुरी चल्न थाल्यो।

’ठूलै हावाहुरी चल्यो। उनी हत्तपत्त विद्यालयको अफिस कोठाभित्र छिरे’ प्रधानाध्यापक जीव गुरुङले भन, ’हामी शिक्षक स्टाफहरु नाल, थाम, बलो समातेर बसेका थियौं। उनी पनि त्यसै गर्न थाले।’

 २० मिनेट जोडदार हावाहुरी चलेको उनले बताए। ’२० मिनेटसम्म हुरी चल्यो। कक्षा कोठाको जस्ता सबै उनकै आँखा अगाडि उडायो। यो देखेर उनी डराएका पनि थिए’, गुरुङले भने।

त्यतिबेला कक्षा आठका विद्यार्थीहरु जिल्लास्तरीय परीक्षा दिइरहेका थिए। ’छानो उडाएपछि जाँच दिइरहेका विद्यार्थीहरु भागाभाग भयो’ गुरुङले भने ’नैतिक बिषयका जाँच दिइसकेर स्थानीय बिषयको जाँच दिन थालेका थिए। जाँचै अधकल्चो भयो।’

स्थानीय बिषयको परीक्षा भएकाले विद्यालयले नै निर्णय गरेर अर्को परीक्षा लिने उनले बताए। हावाहुरी थामिएपछि ह्यारीले शिक्षक विद्यार्थीहरुसँग सामुहिक तस्वीर खिचाएका थिए। प्रकोप आइरहने भएकाले पक्की विद्यालय भवन चाँडो बनाउन सुझाव दिएका थिए।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top