चैत्र ९, २०७२- भारतले नेपालसँग कायम आफ्नो ऐतिहासिक र जनस्तरको सम्बन्धका अगाडि अरू कुनै देशसँगको सम्बन्ध वा समझदारीलाई ‘तुलना गर्नै नमिल्ने’ बताएको छ ।

नेपालका प्रधानमन्त्री केपी ओलीको जारी चीन भ्रमणका क्रममा भएको १० बुँदे समझदारी र चीनसँग नेपालको बढदो सम्बन्धले ल्याएको ‘चुनौती’ बारे सोधिएको जिज्ञासामा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले भूराजनीतिक तथा ऐतिहासिक कारणले पनि नेपाल–भारत विशिष्ट सम्बन्धको अरू कहींकतै तुलनै हुन नसक्ने प्रतिक्रिया दिएका हुन् ।

‘नेपालसँग कायम रहेको खुला सिमानाको सम्बन्ध, इतिहासको साझेदारी, संस्कृति र सभ्यताको समानता तथा जनस्तरको साइनो सधैं अतुलनीय छ,’ जवाहर भवनमा मंगलबार प्रेस ब्रिफिङमा प्रवक्ता स्वरूपले भने, ‘प्रधानमन्त्री ओलीको एक महिनाअघिको दिल्ली भ्रमणले पनि यो विशिष्ट सम्बन्धको तहलाई स्पष्ट पारेको छ ।’

प्रवक्ता स्वरूपले भूपरिवेष्टित मुलुकले पाउने पारवहन अधिकारका रूपमा नेपालले कुनै मुलुकसँग पनि ‘व्यावहारिक विकल्प’ खोज्न सक्ने उल्लेख गर्दै उनले ‘तर नेपालसँग रहिआएको भारतको विशिष्ट सम्बन्ध अरूसँगको दाँजोमा अतुलनीय’ रहेको बताए । लाखौं नेपाली भारतमा मजदुरीका लागि आउने गरेको र हजारौले खुला सिमानाको उपयोग गर्दै दैनिक आवतजावत गर्ने गरेको सन्दर्भ निकाल्दै प्रवक्ताले प्रश्नकर्तालाई उल्टै सोधे, ‘तपार्इं आफैंसँग सोध्नुहोस्, नेपालसँग भएजस्तो भारतको विशिष्ट सम्बन्ध विश्वमा अरू कुनै मलुकसँग होला ?’  

प्रवक्ता स्वरूपले नेपालसँगको ‘कनेक्टिभिटी’को सन्दर्भमा हाल जारी रहेका दर्जनभन्दा बढी द्विदेशीय परियोजनाबारे टिपोट गराएका थिए । उनले हाल नेपाल–भारतबीच २६ वटा आवागमनका नाका रहेको उल्लेख गरे । तीमध्ये १० वटा व्यापारिक प्रयोजनका नाका भएको र वीरगन्ज (रक्सौल) तथा विराटनगर (जोगबनी) मा संयुक्त भन्सार विन्दुसमेत कार्यान्वयनमा रहेको प्रस्ट पारे । उनले भैरहवा (सुनौली) र नेपालगन्जमा समेत संयुक्त ‘चेक पोस्ट’ निर्माणाधीन रहेको जानकारी दिए । यस्तै, जोगबनी–विराटनगर र जयनगर–विजनपुरा–बर्दिबास रेलवेलाइन निर्माण क्रममा रहेको उल्लेख गर्दै प्रवक्ता स्वरूपले अरू तीनवटा सीमावर्ती विन्दु (नेपालगन्ज, काँकडभिट्टा र भैरहवा) जोड्ने रेलवेलाइन विस्तार क्रम योजनामा रहेको जनाए । यस्तै, तराई सडक (हुलाकी) को ६ सय ५ किलोमिटर निर्माणसमेत पहिलो चरणमा जारी रहेको र यसमा ८७ किलोमिटर पूरा भइसकेको विवरण प्रेस ब्रिफिङमा दिइएको थियो । बाँकी ९ सय किलोमिटर अर्को चरणमा पूरा हुने जनाइएको छ । उनले गत वर्ष रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणको समझदारीपत्रमा हस्ताक्षर भइसकेको तथा ६ सय मेगावाटको मुजफ्फरपुर–ढल्केबर प्रसारण लाइनको हालै उद्घाटन भएको उदाहरण दिए ।

स्वरूपले अहिले भारतका ट्रान्जिट–प्वाइन्टमार्फत नेपालको तेस्रो देशमा हुने आयातनिर्यातको निर्भरता ९० प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरेका थिए । चीनसँगको नेपालको पछिल्लो सहमति र समझदारीतर्फ संकेत गर्दै उनले भने, ‘नेपालसँग रहिआएको भारतको विशिष्ट सम्बन्धको नक्कल अरू कसैले गर्न सक्दैन, यो आफैंमा उदाहरणीय छ ।’

दिल्लीमा बेइजिङ तरंग
प्रधानमन्त्री ओलीको जारी चीन भ्रमणले काठमाडौंमा भन्दा बढी दिल्लीमा तरंग ल्याएको छ । दिल्लीका प्रमुख मिडियामा नेपालका प्रधानमन्त्रीको चीन भ्रमणबारे यथार्थभन्दा संशयका कुरा आउने क्रम जारी छ । विशेषत: चीनसँग भएको पारवहन सम्झौता र काठमाडौं–केरुङ रेलवे निर्माणको विषयलाई चाहिनेभन्दा बढी उछालिएको छ । यो समझदारीले ‘दक्षिण एसियाली एकता र मैत्रीको सम्बन्धलाई असर गर्न सक्ने’ भनेर अनौठो टिप्पणी गर्न थालिएको छ ।

दिल्लीसँग ७ बुँदे समझदारी गरेको एक महिनामा बेइजिङ उत्रिएका प्रधानमन्त्री ओलीले त्यहाँ संख्याकै आधारमा पनि बढी अर्थात् १० बुँदे समझदारी गरेका छन् । तत्काल कार्यान्वयनमा आइहाल्नेभन्दा पनि रणनीतिक हिसाब र कूटनीतिक संकेतमा अर्थपूर्ण रहेका समझदारी गरेर ओलीले दक्षिणभन्दा पनि उत्तरको छिमेक भ्रमणमा बढी चर्चा पाइरहेको टिप्पणी भएका छन् । भारतीय नाकाबन्दीको मारबाट भर्खरै तंग्रिन लागेको नेपालका निम्ति तत्काल आशा र अपेक्षाको आधारविन्दुका रूपमा चीनसँग हुने भनिएको इन्धन सम्झौता थियो, तर त्यो अन्तिम घडीमा आएर तुहिएको सन्दर्भलाई भारतीय पक्षले ‘मुख्य सरोकार’ का रूपमा उठाएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका सन्दर्भमा एक आलेखमार्फत वरिष्ठ पत्रकार सी. राजामोहनले भारतसँग पनि ‘चाइना कार्ड’ रहेको भए पनि अहिलेसम्म उसले यो कार्ड खेल्न नचाहेको बताएका छन् । उनले चीनसँग नेपालको बहुप्रचारित इन्धन सम्झौता हुन नसके पनि ‘नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययनको विषय’ लाई जोड दिएर उठाएका छन् ।  

‘दुई विशाल छिमेकी चीन र भारतबीच गतिशील पुलका रूपमा उभिँदै नेपाल समृद्धि तथा विकासको बाटोमा अघि बढ्न सक्छ’ भन्ने अडान दोहोर्‍याउदै सुनाइरहने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको चासो प्रधानमन्त्री ओलीको चीन भ्रमण क्रममा फेरि सन्दर्भमा आएको छ । जारी चीन भ्रमणमा चिनियाँ राष्ट्रपति सी जिनपिङले कूटनीतिक सन्तुलनमा राखेको धारणाले पूर्वप्रधानमन्त्री भट्टराईको अडानलाई फेरि स्मरण गराएको हो । राष्ट्रपति जिनपिङले ‘नेपालले चीन र भारतमा भएका विकासबाट फाइदा लिन सक्छ, साथै नेपालको विकास र स्थायित्व उसका दुई ठूला छिमेकीको हितमा छ’ भनेर राखेको धारणामा भने भारतीय मिडियाले ‘मौनता’ राखेका छन् ।

नेपाल मामिलाका जानकार प्राध्यापक एसडी मुनिले भने, ‘चीनले तिब्बत क्षेत्र बाँकी विश्वका लागि खुला नगरी नेपालसँग पारवहन वा रेलवेलाइनको सम्झौता’ गर्नुको अर्थ नरहेको टिप्पणी गरेका छन् । ‘नेपालबाट तिब्बत हुँदै चीन मुख्यभूमिमा पुग्ने रेलवेलाइनमा गैरचिनियाँ यात्रुको आवागमन स्वाभाविक हुनेछ,’ मुनिले टिप्पणीमा भनेका छन्, ‘के नेपालसँगको सम्पर्क विस्तारका नाममा चीनले तिब्बतलाई बाँकी विश्वसामु खुला गर्ला ?’



0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top